विनोद परियार

रूपन्देही / शुक्रबार बिहान बलु पौडेल देवदह ढेकारस्थित उज्ज्वल समिलमा कर्मचारीसँग आगो तापिरहेका थिए । एउटा मोटरसाइकलमा दुई युवक आए । काठ अर्डर गर्न आएको भन्दै एक युवकले गोजीबाट कागज निकाल्दै गर्दा अर्का युवकले बलुलाई गोली प्रहार गरेर भागे । बलुलाई तत्काल लुम्बिनी अञ्चल अस्पताल पु¥याइयो तर छाती र टाउकोमा गोली लागेका उनी बाँच्न सकेनन् ।

 

गोली प्रहार गरी दुवै जना दक्षिणतर्फ भागेको प्रत्यक्षदर्शीले जनाए । प्रहरीले अनुसन्धानलाई तीव्रता दिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक पवन भट्टराईले बताए । सूक्ष्म रूपमा अनुसन्धान गरेको बताउँदै अपराधीलाई उम्कन नदिने उनले बताए ।

युवासंघ नेपाल रूपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्या भएको एक वर्षपछि पुनः युवासंघकै अर्का नेताकोे हत्या भएको हो । बलु युवासंघ रूपन्देही–१ का पूर्वकोषाध्यक्ष हुन् । उनका बुबा नीलकण्ठ पौडेल एमालेका क्षेत्रीय अध्यक्ष हुन् ।

युवासंघ नेपालले बलुको हत्यालगत्तै रूपन्देहीमा आन्दोलन सुरु गरेको छ । शुक्रबार दिनभर बुटवलसहित देवदह क्षेत्र तनावग्रस्त रह्यो । ४० वर्षीय पौडेल दुर्गा तिवारीका साथी हुन् ।

पौडेलमाथि गोली प्रहार भएको केही बेरमै बुटवलका सञ्चारकर्मीलाई फोन गरेर मनोज पुनले हत्याको जिम्मेवारी लिएका छन् ।  आफू दुर्गा तिवारीको हत्या गर्ने मनोज पुन भएको र हाल मलेसियामा रहेको भन्दै उनले हत्याको जिम्मा लिएका हुन् ।

तिवारी हत्यापछि आफ्ना मान्छेलाई पौडेलले अनावश्यक दुःख दिएको र फसाएकाले बदलास्वरूप हत्या गरेको मनोजले टेलिफोनमा बताए । प्रहरी नायब उपरीक्षक भट्टराईले भने हत्यामा पुनको संलग्नताबारे अनुसन्धानपछि मात्रै प्रस्ट हुने बताए ।

शृंखलाबद्ध रूपमा आफ्ना नेताकार्यकर्ताको हत्या हुन थालेको भन्दै युवासंघ रूपन्देहीले शनिबार (आज) बिहान ७ बजेदेखि अनिश्चितकालीन बन्द आह्वान गरेकोे छ ।

एक वर्षअघि हत्या गरिएका युवासंघ रूपन्देही अध्यक्ष तिवारीको हत्या भएको एक वर्षपछि युवासंघकै कार्यकर्ता पौडेलको हत्या सुनियोजित रूपमा गरिएको भन्दै बन्द आह्वान गरेको बताइएको छ ।

हत्यालगत्तै युवासंघको बैठकले अपराधीले खुलेआम घटनाको जिम्मा लिँदा पनि प्रहरी प्रशासन लाचार बनेको युवासंघ रूपन्देही अध्यक्ष नहकुल शाहीले आरोप लगाए । उनले योजनाबद्ध रूपमा युवासंघका नेता–कार्यकर्तामाथि आक्रमण भएको बताए ।

पहिले प्रदेश विभाजनविरुद्धको आन्दोलनको बेलामा तिवारीको र अहिले प्रदेश केन्द्र विवाद भएको बेला पौडेलको हत्या आन्दोलन मोड्न गरिएको घटना भएको उनको तर्क छ । प्रहरीले अपराधीलाई कानुनी कठघरामा नल्याएसम्म आन्दोलन जारी राख्ने जनाए ।

यसैबीच, रूपन्देही उद्योग संघले पनि पौडेल हत्याप्रति आपत्ति जनाएको छ । संघका सदस्य रहेका पौडेलको हत्या गरिएकाले व्यवसायीहरू त्रसित भएको संघ अध्यक्ष दिनेशराज रेग्मीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।